म्याग्दी सहकारीको तेह्रौ बार्षिक साधारणसभाको शुभारम्भ
काठमाण्डौ २१ पुस । काठमाण्डौमा रहेका म्याग्देलीहरुको अगुवाईमा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १३औँ बार्षिक साधारणसभा को उद्घाटन गरिएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको छ। संस्थाको १३औं साधारणसभाको अवसरमा सामाजिक योगदान गरे वापत बेलायती सञ्चार माध्यम बीबीसीले गरेको संसारका १०० जना उत्कृष्ट महिलाको सुचिमा छनौट हुनुभएकी म्याग्देली सपना रोका मगरलाई सम्मान गरिएको छ।
सो अवसरमा म्याग्दी सहकारीबाट प्रकाशित विभिन्न किसिमका जानकारी मुलक अन्य सामाग्रीहरु समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानीत मगरले आफ्नो संघर्षका यात्रालाई अघि बढाउन सहकारीले गरेको सम्मानले हौँसला थपिएको बताउँदै सहकारीलाई आभार प्रकट गर्नुभयो । सोहि अवसरमा संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले अव सहकारीलाई व्यवसायीक रुपमा विकसित गर्नका लागि कार्ययोजना तयार गरि संचालन गर्नु पर्ने बताउनु भयो । म्याग्दी सहकारीको १४ वर्षे यात्रा उत्साहपूर्ण रहेको बताउनुहुँदै, संस्थाको हितका लागि आफुले अझै योगदान दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक तथा संस्थाका कानुनी सल्लाहकार डिल्लीराम तिवारीले सहकारी ऐन तथा नियमावलीको पालना गर्नु सबैको कर्तव्य हुने भएकोले संस्थालाई सफल बनाउन सबै सदस्यहरुले आफनो जिम्मेवारीलाई पुरा गर्नु पर्ने तर्फ सचेत गराउँदै अन्य सहकारी संस्थाको तुलनामा यस सहकारीका पदाधिकारी तथा सदस्यहरु बढि सक्रिय र जिम्मेवार भएको बताउनुभयो । कार्यक्रममा बचत तथा कर्जामा असल तथा उत्कृष्ट कारोवार गर्नु हुने इन्द्रमाया महर्जन, चन्द्रशेखर शर्मा, ढकबहादुर छन्त्याल, शम्भु तामाङ, घनश्याम उपाध्याय र दिलमाया भण्डारीलाई कदर पत्र प्रदान गरिएको थियो भने नयाँ शेयर सदस्य मुदी,चेचुङका तिलकुमारी घर्तिलाई शेयर प्रमाण पत्र प्रदान गरियो ।
संस्थाका सचिव तथा प्रबन्ध संचालक दिपबहादुर छन्त्यालबाट संचालित सो कार्यक्रमको स्वागत सहकोषाध्यक्ष छकप्रसाद शेरचनले गर्नु भएको थियो। साधारणसभामा संचालक समितिको प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो भने लेखा समितिको वार्षिक प्रतिवेदन समितिका संयोजक चित्रबहादुर पुनले पेश गर्नु भएको थियो। १ हजार ६८० शेयर सदस्य र ७ करोड ५२ लाख कुल पुँजी रहेको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ४५ करोड ३८ लाख बचत र ४१ करोड ७५ लाख कर्जा लगानी गरेकोे जनाएको छ।